काठमाडौँ उपत्यकामा आज हल्का वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँ उपत्यकामा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय रहेकाले उपत्यकासहित देशका अधिकांश भू–भागमा मौसम बदली भएको हो। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाश बादलले पूर्ण रूपमा ढाकिएको छ।
उनका अनुसार दिउँसो करिब ३ बजेसम्म हल्का खालको वर्षा हुन सक्ने सम्भावना देखिएको छ। यद्यपि भारी वर्षाको अवस्था भने नरहेको उनले स्पष्ट पारे।
दिउँसोपछि मौसम क्रमशः सुधार हुँदै जाने र बादल हट्ने सम्भावना रहेको छ। रातिसम्म काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा हुने अनुमान गरिएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने वर्षा र हिमपात भइरहेको छ। यसले गर्दा तापक्रम घट्नुका साथै चिसो अझ बढ्ने देखिएको मौसमविद्हरूको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाले चिसो, वर्षा र हिमपातका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।













