विश्वकपका लागि टोलीको तयारी सशक्त र व्यवस्थित छ : कप्तान रोहित पौडेल

User Image Prime TV News एक महिना अगाडि
Image of विश्वकपका लागि टोलीको तयारी सशक्त र व्यवस्थित छ : कप्तान रोहित पौडेल

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आगामी विश्वकपका लागि टोलीको तयारी सशक्त र व्यवस्थित रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ सँगको भिडियो कुराकानीमा उनले नेपाली टिम आत्मविश्वासका साथ विश्वकपतर्फ अघि बढिरहेको स्पष्ट पारेका हुन्।

कप्तान पौडेलका अनुसार हालसम्मको अभ्यास प्रभावकारी भएको छ र विश्वकपअघि थप अभ्यास खेल खेलेर टोलीलाई अझ धारिलो बनाइनेछ। उनले नेपाली टिम विश्वकप खेल्न पाउँदा उत्साहित रहेको र खेलाडीहरू मानसिक तथा शारीरिक रूपमा तयार अवस्थामा रहेको बताए।

उनले नयाँ र अनुभवी खेलाडीको संयोजनले यसपटक नेपालको टिम सन्तुलित बनेको उल्लेख गरे। तीन जना खेलाडी पहिलो पटक विश्वकप खेल्न लागेको र सोमपाल कामी तेस्रो पटक विश्वकपमा सहभागी हुन लाग्दा टोलीमा अनुभव र ऊर्जा दुवै रहेको उनको भनाइ छ।

सन् २०२६ को विश्वकपमा नेपाल छनोट हुनु धेरैको अपेक्षाअनुसार भए पनि त्यसले टिममा दबाब सिर्जना गरेको कप्तान पौडेलले स्वीकार गरे। तर उक्त दबाबलाई कमजोरी होइन, प्रेरणाका रूपमा लिएको र त्यसले खेलाडीलाई अझ जिम्मेवार बनाएको उनको धारणा छ।

विश्वकपमा मैदानमा शतप्रतिशत प्रदर्शन गर्ने प्रतिबद्धता जनाउँदै उनले नेपाली समर्थकलाई निराश नबनाउने दाबी गरे। कप्तान पौडेलले नेपाली जर्सी लगाउँदा आफू भावुक हुने उल्लेख गर्दै सन् २०१४ को विश्वकप घरमै बसेर हेरेको सम्झना अझै ताजा रहेको बताए।

हाल विश्वकप तयारीमा जुटेको नेपाली राष्ट्रिय टिम भारतको मुम्बइमा अभ्यासरत छ। त्यहाँ नेपालले भारतका प्रदेशस्तरीय टोलीसँग अभ्यास खेल खेल्नेछ भने विश्वकपअघि यूएई र क्यानडासँग पनि अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ ।