अमेरिकाको मिनेसोटा सुरक्षा निकायको गोलीकाण्डपछि अवस्था बिग्रँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकाको मिनेसोटा राज्यमा संघीय सुरक्षा निकायको गोलीकाण्डपछि अवस्था झनै बिग्रँदै गएको छ।
संघीय एजेन्टहरूको कारबाहीमा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि उत्पन्न आक्रोशका बीच डेमोक्र्याटिक सांसद इल्हान ओमारमाथि सार्वजनिक कार्यक्रममा आक्रमण भएको छ।
बीबीसीका अनुसार मिनेयापोलिसमा आयोजित टाउन हल कार्यक्रममा ओमारले सम्बोधन गरिरहेका बेला एक व्यक्ति उनीतर्फ दौडिँदै आएका थिए। ती व्यक्तिले सांसद ओमारलाई लक्षित गर्दै अज्ञात तरल पदार्थ छ्यापेको बताइएको छ।
सुरक्षाकर्मीहरूले तुरुन्त हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएर कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए। तनावपूर्ण परिस्थितिका बाबजुद ओमारले आफ्नो सम्बोधन रोकिन नदिई जारी राखेकी थिइन्।
मिनेसोटामा पछिल्लो समय संघीय सुरक्षा र अध्यागमन निकायको गतिविधिलाई लिएर जनआक्रोश चुलिँदै गएको छ। बोर्डर पेट्रोल एजेन्टहरूले ३७ वर्षीय एलेक्स प्रेटीलाई गोली हानी हत्या गरेको घटना र त्यसको केही हप्ता अघि अध्यागमन अधिकारीको गोलीबाट अर्का ३७ वर्षीय नागरिक रेनी गुडको मृत्यु भएपछि राज्यभर विरोध प्रदर्शन फैलिएको हो।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटामा संघीय सरकारको सक्रियता ‘केही हदसम्म कम गरिने’ बताएका छन्।
फक्स न्युजसँग कुरा गर्दै उनले दुवै गोलीकाण्डलाई भयानक घटना भनेका छन्। तर त्यसैबीच उनले मिनेसोटामा स्थलगत अध्यागमन अपरेसनको नेतृत्व गर्न आफ्ना ‘बोर्डर जार’ टोम होमानलाई पठाएका छन्। बोर्डर पेट्रोल कमान्डर ग्रेगरी बोभिनोलाई भने अन्यत्र सरुवा गरिएको छ।
यसैबीच, गृह सुरक्षा सचिव क्रिस्टी नोमको राजीनामा माग तीव्र रूपमा बढेको छ। डेमोक्र्याटिक सांसदहरूका साथै केही रिपब्लिकन नेताहरूले पनि मिनेसोटामा भइरहेको आक्रामक अध्यागमन छापाको विरोध गर्दै नोमको बर्खास्ती माग गरेका छन्।
हाउस माइनोरिटी लिडर हाकिम जेफ्रीजले राष्ट्रपतिले उनलाई पदबाट नहटाए महाभियोग प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्। तर राष्ट्रपति ट्रम्पले भने नोममाथि आफ्नो पूर्ण भरोसा रहेको अडान दोहोर्याएका छन्।













