बारामती विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

User Image Prime TV News एक महिना अगाडि
Image of बारामती विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

काठमाडौ । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बारामतीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। बुधबार बिहान बारामती विमानस्थल नजिकै अवतरणका क्रममा निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा पवारसहित कुल ६ जनाको ज्यान गएको हो।

अस्पताल स्रोतलाई उद्धृत गर्दै अजित पवारका नजिकका सहयोगी किरण गुजरले उपमुख्यमन्त्री पवारसहित छ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले पनि दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित अन्य पाँच जनाको मृत्यु भएको औपचारिक रूपमा जनाएको छ।

जिल्ला परिषद् निर्वाचनअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न आफ्नो गृहनगर बारामती आउने क्रममा पवार सवार विमान आज बिहान दुर्घटनामा परेको हो। विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका दुई कर्मचारी एक व्यक्तिगत सुरक्षा अधिकारी र एक सहयोगी सवार थिए। साथै चालक दलका दुई सदस्य, एक कमान्ड पाइलट र एक फर्स्ट अफिसर पनि विमानमै रहेका थिए।

हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको भीटीएसएस/एलजी–४५ कलसाइनको उक्त विमान भारतीय समयअनुसार बिहान ०८ः४८ बजे धावनमार्ग ११ नजिकै दुर्घटनाग्रस्त भएको थियो। अवतरणका क्रममा विमानले ठक्कर खाएपछि आगलागी भएको जनाइएको छ।

दुर्घटनापछि घटनास्थलमा उद्धार टोली परिचालन गरिएको थियो तर आगलागीका कारण यात्रुहरूलाई बचाउन नसकिएको बताइएको छ। नागरिक उड्डयन महानिर्देशनालयका महानिर्देशक फैज अहमद किदवईले दुर्घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्।