रास्वपाका वरिष्ठ नेता बालेन शाहको सुदूरपश्चिम चुनावी दौडाहाः डडेलधुरा हुँदै दार्चुलातर्फ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बुधबार बिहान डडेलधुरा पुगेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा बालेनको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
सुदूरपश्चिम केन्द्रित चुनावी यात्रामा रहेका बालेन बुधबार डडेलधुरा हुँदै दार्चुला पुग्ने कार्यक्रम रहेको रास्वपा सचिवालयले जनाएको छ। सोमबारदेखि सुरु भएको यस यात्राका क्रममा उनले मंगलबार कैलाली र कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा सहभागिता जनाएका थिए।
आज डडेलधुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्तासँग भेटघाट गरेपछि बालेन बैतडीतर्फ प्रस्थान गर्नेछन्। बैतडीको पाटनस्थित रास्वपा सम्पर्क कार्यालयमा दिउँसो १२ बजे कार्यकर्ता भेटघाटको कार्यक्रम तय गरिएको छ।
त्यसपछि उनी आजै साँझ दार्चुला पुग्ने कार्यक्रम रहेको छ। अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित रास्वपा सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको रास्वपा सचिवालयले जनाएको छ।













