सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा, एकैदिन सुन तोलामा ९ हजार ५०० रुपैयाँले बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
मंगलबार तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको महासंघले जनाएको छ। सुनको मूल्य निरन्तर बढ्दै जाँदा बजारमा कारोबार महँगो बन्दै गएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३२० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नु र स्थानीय बजारमा मागमा आएको चापका कारण मूल्यले नयाँ रेकर्ड बनाएको बताइएको छ।
यसैबीच चाँदीको मूल्य पनि बढेर तोलामा ७ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी तोलामा ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार बुधबार कायम भएको सुन र चाँदीको मूल्य दुवै नेपाली बजारकै इतिहासमा सबैभन्दा उच्च हो।













