निजी क्षेत्रको जोडः लगानी र आर्थिक स्थायित्वका लागि निष्पक्ष निर्वाचन अपरिहार्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकमा लगानीको वातावरण सुदृढ गर्न र आर्थिक स्थायित्व कायम गर्न निष्पक्ष निर्वाचन र स्थिर सरकार अनिवार्य रहेको बताएका छन्।
निर्वाचन आयोगद्वारा आयोजित ‘निर्वाचन आचारसंहिता कार्यान्वयन’ विषयक छलफलमा सहभागी व्यवसायीहरूले राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताले मात्र दीर्घकालीन लगानी सम्भव हुने धारणा राखेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र लामो समयदेखि नीतिगत अस्पष्टता र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको उल्लेख गर्दै निर्वाचनपछि गठन हुने स्थिर सरकारले मात्रै व्यवसाय र लगानीको वातावरण बनाउन सक्ने बताए। उम्मेदवारको खर्च विवरण बैंकिङ प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई उनले सकारात्मक कदमका रूपमा मूल्याङ्कन गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरे। आचारसंहिता व्यवहारमा लागू नभएसम्म निष्पक्ष निर्वाचन सम्भव नहुने उनको भनाइ थियो।
छलफलका क्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाह र नेपाल पर्यटन व्यवसायी संघ (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले निर्वाचन अवधिमा पर्यटक आवागमनमा अनावश्यक अवरोध नहोस् भन्ने विषयमा आयोगको ध्यानाकर्षण गराए। साल्ट ट्रेडिङ कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचनका नाममा हुने ध्वनि प्रदूषण तथा राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आग्रह गरिन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पछिल्लो समय उत्पन्न असहज परिस्थितिलाई सामान्यीकरण गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताए। देशलाई स्थायित्वतर्फ लैजान निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे।
उनका अनुसार आयोगले यसपटक स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीतिअनुसार ३७ प्रकारका सामग्री स्थानीय बजारबाट प्रयोग गरिरहेको छ। साथै, ६ करोड ७५ लाख रुपैयाँ बराबरका नयाँ सामग्री मात्र खरिद गरी बाँकी पुराना सामग्री पुनः प्रयोग गरेर मितव्ययिता अपनाइएको जानकारी पनि दिए।













