निर्माण व्यवसायी महासंघले उपभोक्ता समिति खारेज गर्न माग

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्माण व्यवसायी महासंघले उपभोक्ता समिति खारेज गर्न माग

काठमाडौ । निर्माण व्यवसायी महासंघले विकास निर्माणको क्षेत्रमा भ्रष्टाचार बढेको भन्दै उपभोक्ता समिति प्रणाली खारेज गर्न माग गरेको छ।

आइतवार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गर्दै महासंघका अध्यक्ष रवि सिंहले उपभोक्ता समितिहरू राजनीतिक दबाबमा गठन हुने र यिनले विनियोजित बजेटको ठूलो हिस्सा हिनामिना गर्ने गरेको आरोप लगाए।

उनका अनुसार कतिपय उपभोक्ता समितिहरूले ४० देखि ५० प्रतिशतसम्म रकम दुरुपयोग गर्ने गरेका छन्, जसले गर्दा निर्माणको गुणस्तर कमजोर र परियोजनाहरू अलपत्र पर्ने गरेका छन्।

अध्यक्ष सिंहले विकास निर्माणको कामलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउनु पर्ने आवश्यकता औँल्याउँदै उपभोक्ता समितिको सट्टा सबै परियोजनाहरू ठेक्कामार्फत सम्पन्न गरिनुपर्ने माग राखे। साथै, उनले समयमै काम सम्पन्न नगर्ने निर्माण योजनाहरूको ठेक्का रद्द गर्न कानुन नै बाधक भएको बताए। यस्ता अवस्थामा कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै, निर्माण व्यवसायीहरूको आवश्यकता र सुझावको आधारमा अगाडि बढ्न मन्त्रीलाई आग्रह गरे।

छलफलका क्रममा मन्त्री कुलमान घिसिङले सरकारी परियोजनाको ठेक्का लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्तिलाई अब सह्य नहुने स्पष्ट पारे। उनले कार्यान्वयनमा देखिएको ढिलाइको जिम्मेवारी तोक्दै, ठेक्का भइसकेर पनि वर्षौंदेखि काम नगर्ने योजनाहरूलाई खारेज गरिने चेतावनी दिए।