अर्थमन्त्री खनालले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणमा सबै निकाय र क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट चाँडो बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ कार्यक्रममा बोल्दै उनले भने, “आवश्यक सुधारका काम समयमै सम्पन्न गरी आगामी एक वर्षभित्र नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्छ। यो प्रक्रिया अन्तर्राष्ट्रिय दबाबका लागि नभई हाम्रो संस्थालाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउने तथा अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका लागि हो।”
खनालले सुधार प्रयासले अतिरिक्त आर्थिक दायित्व वा अनावश्यक लागत सिर्जना नगर्ने बताए। उनले विदेशी लगानी अपेक्षाअनुसार नआउनुको कारण वित्तीय प्रणालीप्रति विश्वास कमजोर हुनु रहेको भन्दै सुधारमार्फत लगानी वातावरण मजबुत बनाउनु आवश्यक भएको बताए।
एफएटीएफ र एसिया प्यासिफिक ग्रुपले जनवरी २०२७ सम्म सुधार गर्नुपर्ने विषयहरू सुझाएको उल्लेख गर्दै अर्थमन्त्री खनालले पछिल्लो वर्ष केही सुधार भए पनि बाँकी सुधार आगामी वर्षभित्र पूरा गर्नुपर्ने बताए। उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान, अभियोजन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा समेत जोड दिए।













