नेप्सेमा गिरावटपछि सामान्य सुधार, कारोबार रकम घट्दो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लगातार दुई दिनको गिरावटपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य सुधारतर्फ फर्किएको छ। मंगलबार ४२.५८ अंकले घटेको बजार बुधबार ५.३८ अंकले बढ्दै २७३१.८९ बिन्दुमा पुगेको हो।
यद्यपि सूचकमा सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ। सोमबार १६ अर्ब रुपैयाँभन्दा बढी रहेको कारोबार रकम मंगलबार घटेर १४ अर्बमा सीमित भएको थियो भने बुधबार झनै घटेर ११ अर्ब ४९ करोड रुपैयाँमा पुगेको छ।
बजारमा करेक्सनपछि पनि १० अर्ब रुपैयाँभन्दा माथिको कारोबार कायम रहनुले चुनावी माहोलसँग जोडिएको लगानीकर्ताको उत्साह अझै कायम रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ। बुधबारको कारोबारमा ३ सय ३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएका छन्।
कुल कारोबार भएका कम्पनीमध्ये १ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १२ कम्पनीको मूल्य घटेको छ। ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा फाइनान्स समूह सबैभन्दा बढी १.२४ प्रतिशतले बढेको छ। जलविद्युत् समूह ०.९९ प्रतिशतले उकालो लाग्दा इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले घटेको छ। माइक्रोफाइनान्स सूचक पनि ०.१४ प्रतिशतले ओरालो लागेको छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ८ प्रतिशतले घटेको छ।












