संघीयता खारेजीको एजेण्डासहित जनमोर्चाले सार्वजनिक गर्यो चूनावी घोषणापत्र
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चूनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् । पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगाएतका बिषयलाई समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।
उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजिओ आइएनजिओका मान्छे सरकारमा राखेर चूनाव गराउन खोजिएको आरोप लगाए । समयमा नै चूनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरु चूनाव हुने भएपनि आफ्नो फाइदा हेरेर राजीनामा दिदै चूनावमा होमिएको बताए ।
अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको राखे । हरेक निर्वाचनबाट मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्तिहरु नै सत्तामा आउने गरेको भन्दै यसपटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्ने व्यक्तिलाई मद्दत गरेर सदनमा पठाउन आग्रह गर्दै केसीले आफ्नो पार्टी समेत निर्वाचनमा होमिएकाले मत दिन अपील समेत गरे ।












