हर्क साम्पाङले बालबालिका प्रयोगको आरोप अस्वीकार गर्दै निर्वाचन आयोगलाई दिए जवाफ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोपलाई अस्वीकार गर्दै निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्। उनले आफूमाथि लगाइएका आरोप तथ्यहीन, कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन्।
आयोगमा पेस गरिएको लिखित जवाफमा साम्पाङले कुनै पनि स्थान वा अवस्थामा बालबालिकालाई निर्वाचन गतिविधिमा खटाउने निर्णय वा निर्देशन नदिएको स्पष्ट पारेका छन्। बालबालिकाले उनको नाम र तस्वीर अंकित टिसर्ट लगाएको घटनालाई व्यक्तिगत रहरका रूपमा व्याख्या गर्दै उनले यसलाई प्रचार गतिविधिसँग जोड्नु गलत भएको बताएका छन्।
साम्पाङका अनुसार ती टिसर्ट विदेशमा रहेका शुभचिन्तकहरूले आफ्नै खर्चमा छपाइ गरी पठाएका हुन्। श्रमदानका क्रममा केही अभिभावकका बालबालिकाले रमाइलोका लागि टिसर्ट लगाएको हुन सक्ने भए पनि उनीहरूलाई कुनै किसिमको काममा संलग्न नगरिएको उनले स्पष्ट पारे।
आफूसँग पर्याप्त समर्थक र ठूलो चुनावी परिचालन संयन्त्र रहेकाले प्रचारका लागि बालबालिकाको सहारा लिनुपर्ने अवस्था नरहेको साम्पाङको भनाइ छ। साथै सामाजिक सञ्जालमा सार्वजनिक भएका केही दृश्यहरू प्रविधिको प्रयोगमार्फत आफूलाई बदनाम गराउने उद्देश्यले तयार पारिएको नाटकीय सामग्री हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन्।
यसअघि नगरप्रमुख रहँदादेखि नै केही समूहले राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई लक्षित गर्दै आएको उल्लेख गर्दै साम्पाङले आफ्नो पार्टीमाथि कारबाही गर्नु न्यायसंगत नहुने मागसमेत राखेका छन्।












