धनकुटाको समग्र रूपान्तरणका लागि १४ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक
Prime TV News एक महिना अगाडि 
धनकुटा । नेकपा एमाले धनकुटाका प्रतिनिधिसभा उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र आर्थिक सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै १४ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्रीसमेत रहेका राईले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। राईले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई विकासको मुख्य आधार बनाउँदै दीर्घकालीन र ठोस योजनामार्फत धनकुटालाई समृद्ध जिल्लाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
प्रतिवद्धता पत्रमा गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि लगाइएका मुद्दा पुनरावलोकन गरी रिहाइका लागि पहल गर्ने उल्लेख गरिएको छ। उनले धरान लेउती सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्ने र प्रदेश सरकारसँगको समन्वयमा धनकुटामा शिक्षण अस्पताल स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे।
चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा नमुना सहर निर्माण गर्ने योजना पनि राईको प्रतिवद्धतामा समावेश छ। कृषि क्षेत्रको प्रवर्द्धनका लागि चिया, एभोकाडो, सुन्तला, किवी, कफी र ड्रागन फलको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण गर्दै कृषि बजार केन्द्र सञ्चालन गर्ने उल्लेख गरिएको छ। साथै किसानलाई अनुदान र सरल व्याजदरमा ऋण उपलब्ध गराउन पहल गरिने राईले बताए।
पर्यटन विकासतर्फ ऐतिहासिक तल्लो टुडिखेललाई आधुनिक रंगशालामा रूपान्तरण गर्ने, प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा राष्ट्रिय मापदण्डको खेलग्राम निर्माण गर्ने योजना अघि सारिएको छ। खुवालुङ–लालीगुराँस पदमार्ग र बराहक्षेत्र मिक्लाजुङ सांस्कृतिक याक्थुङ पदमार्गलाई व्यवस्थित पर्यटकीय मार्गका रूपमा विकास गरिने जनाइएको छ।












