तीन प्रमुख अनुसन्धान निकायलाई पुनः सम्बन्धित मन्त्रालयमा फर्काउने तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of तीन प्रमुख अनुसन्धान निकायलाई पुनः सम्बन्धित मन्त्रालयमा फर्काउने तयारी

काठमाडौ । शुसीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेका तीन प्रमुख अनुसन्धान निकायहरूलाई पुनः सम्बन्धित पुराना मन्त्रालयमा फर्काउने तयारी गरेको छ।

राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पूर्वस्थितिमा फर्काउने प्रस्ताव तयार गर्न शासकीय सुधार महाशाखालाई निर्देशन दिएकी छन्। आइतबार बस्ने मन्त्रिपरिषद् बैठकबाट यो निर्णय पारित हुने सम्भावना रहेको बताइएको छ । 

२०७५ साल फागुन १६ गते केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत यी विभागहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहत ल्याएको थियो। त्यसअघि राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागहरू अर्थ मन्त्रालय अन्तर्गत रहेकामा, राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय अन्तर्गत थियो। संघीय शासन प्रणाली कार्यान्वयनको सन्दर्भमा विकेन्द्रीकरणको सट्टा अधिकार केन्द्रीकरण गरिएको भन्दै उक्त निर्णयको आलोचना भएको थियो।

२०७८ सालमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ती विभागहरूलाई पुनः पुरानै मन्त्रालयमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।