पहाडी र हिमाली क्षेत्रमा बदली तथा वर्षा हिमपातको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको असरका कारण पहाडी र हिमाली क्षेत्रमा बदली तथा वर्षा हिमपातको सम्भावना बढेको छ भने तराई क्षेत्रमा हुस्सु लाग्ने अवस्था देखिएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्ण बदली रहेको छ। बाँकी क्षेत्रमा आंशिक बदली छ। यसैबीच बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।
ती उच्च क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। बिहीबार राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। यी उच्च क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै छ।
महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ। आवश्यक सतर्कता नअपनाए जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई सचेत रहन आग्रह गरिएको छ।













