प्रतिनिधिसभा निर्वाचनमा स्वदेशी सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको दाबी

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनमा स्वदेशी सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको जनाएको छ ।

आयोगले निर्वाचनलाई खर्चिलो, अपारदर्शी र आयात निर्भर बनाउने पुरानो अभ्यास तोड्न यो निर्णय गरिएको दाबी गरेको छ । आयोगका अनुसार निर्वाचनका क्रममा कुल ५१ प्रकारका सामग्री प्रयोग हुनेछन् ।

तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गरिने व्यवस्था मिलाइएको छ । यसले स्थानीय उत्पादन र बजारलाई प्राथमिकता दिने भनिए पनि वास्तविक प्रभाव कति पर्छ भन्ने विषयमा ठोस मूल्याङ्कन भने गरिएको छैन ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रस्तरबाट १४ प्रकारका सामग्री मात्र खरिद गरिनेछ । केन्द्रबाट गरिने अधिकांश खरिद ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत गरिनेछ । तर बारम्बार एउटै सरकारी संस्थालाई जिम्मेवारी दिँदा प्रतिस्पर्धा र पारदर्शितामा प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।

आयोगले निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री खरिद गरिएको जनाएको छ । बाँकी सामग्री अघिल्ला निर्वाचनबाट बाँकी रहेको स्टक पुनः प्रयोग गरिनेछ ।

आयोगले यसलाई मितव्ययिता भने पनि, पुराना सामग्रीको अवस्था, गुणस्तर र विश्वसनीयताबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा कमजोर सामग्री प्रयोग हुनु गम्भीर लापरवाही हुने स्पष्ट छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन, दाबी विरोध र निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सम्पन्न भइसकेको आयोगले जनाएको छ ।