प्रचण्डलाई विप्लवको जवाफ: चुनावमै सँगै हिँड्न नसक्नेहरूबाट कम्युनिष्ट एकताको नाटक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्ट एकताको बहसलाई सिधै व्यवहारको कठघरामा उभ्याएका छन् ।
सबै कम्युनिष्ट शक्तिहरूसँग मोर्चा र सहकार्यका लागि आफू तयार रहेको बताउँदै उनले सिद्धान्त, कार्यदिशा र उद्देश्य नमिलेसम्म एकता असम्भव हुने स्पष्ट पारेका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि गरेको आग्रहप्रति लक्षित गर्दै विप्लवले चुनावी मोर्चामा समेत सहकार्य गर्न नसक्ने पार्टीहरूले एकताको कुरा गर्नु कम्युनिस्ट आन्दोलनकै अपमान भएको टिप्पणी गरेका छन् । उनले यस्ता अभिव्यक्ति पुरानै, थोत्रो र बारम्बार असफल भइसकेको राजनीतिक जालझेल मात्र भएको उल्लेख गरे ।
विप्लवले चुनावजस्तो ठोस मैदानमा सहकार्य गर्न डराउनेहरू एकताको नाममा भ्रम फैलाइरहेको आरोप लगाए । उनले यस्ता भ्रममा विचार गुमाएका, साहस सुकिसकेका र आफ्नै विगतले थिचिएका शक्तिहरू मात्र पर्ने भन्दै ती प्रवृत्तिलाई कठोर शब्दमा खारेज गरे ।
आफ्नो पार्टीलाई उनले समाजवादी गन्तव्यतर्फ अग्रसर, अनेक मोर्चाका अनुभव बोकेको र वर्तमान अवस्थामा एकता तथा अग्रगमनको वास्तविक केन्द्र भएको दाबी गरेका छन् । कम्युनिष्ट आन्दोलनलाई नाराले होइन, व्यवहारले अघि बढाउनुपर्ने उनको जोड छ ।













