च्याम्पियन्स लिगमा ईपीएल क्लबहरूको दबदबा, आर्सनलसहित पाँच टोली सिधै अन्तिम १६ मा

User Image Prime TV News एक महिना अगाडि
Image of च्याम्पियन्स लिगमा ईपीएल क्लबहरूको दबदबा, आर्सनलसहित पाँच टोली सिधै अन्तिम १६ मा

काठमाडौ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस प्रिमियर लिग (ईपीएल) का क्लबहरूले आफ्नो वर्चस्व कायम राखेका छन्। लिग चरणको समाप्तिसँगै ईपीएलका छमध्ये पाँच टोली शीर्ष ८ भित्र पर्दै सिधै अन्तिम १६ मा प्रवेश गरेका छन्।

आर्सनलले लिग चरणमा शतप्रतिशत नतिजा निकाल्दै आठ खेलबाट २४ अंक जोडेर शीर्षस्थान कब्जा गर्‍यो। गएराति भएको अन्तिम खेलमा उसले काइरातलाई ३–२ गोलअन्तरले पराजित गर्‍यो। लिभरपुलले काराबागविरुद्ध ६–० को प्रभावशाली जित निकाल्दै १८ अंकसहित तेस्रो स्थान सुरक्षित गर्‍यो। टोटनहमले फ्रान्कफर्टलाई २–० ले हराउँदै १७ अंक जोडेर चौथो स्थानमा रह्यो।

चेल्सीले नापोलीलाई ३–२ ले पराजित गर्दै १६ अंकका साथ छैटौं स्थान हासिल गर्‍यो भने म्यान्चेस्टर सिटीले गालातासारेलाई २–० ले हराउँदै आठौं स्थानमा रहँदै अन्तिम १६ को टिकट काट्यो। न्युकासल युनाइटेड भने अन्तिम खेलमा पीएसजीसँग १–१ गोलको बराबरीमा रोकिँदा शीर्ष ८ मा पर्न सकेन। १२औं स्थानमा रहेर न्युकासलले अब प्लेअफ खेल्नुपर्ने भएको छ।

च्याम्पियन्स लिगमा सहभागी ३६ टोलीमध्ये शीर्ष ८ टोली सिधै अन्तिम १६ पुग्नेछन् भने नवौं देखि २४औं स्थानसम्मका टोली प्लेअफ खेल्नेछन्। बाँकी १२ टोली प्रतियोगिताबाट बाहिरिनेछन्।