फागुन २१ को निर्वाचन लक्षित गर्दै रास्वपाको ५१ सदस्यीय निर्वाचन समिति सक्रिय

User Image Prime TV News एक महिना अगाडि
Image of फागुन २१ को निर्वाचन लक्षित गर्दै रास्वपाको ५१ सदस्यीय निर्वाचन समिति सक्रिय

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा गठन गरिएको उक्त समितिले निर्वाचन व्यवस्थापन तथा समन्वयको मुख्य जिम्मेवारी सम्हाल्नेछ। पार्टीका अनुसार केन्द्रीय समिति बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो।

निर्वाचनमार्फत दुई तिहाइ मत प्राप्त गरी सक्षम सरकार निर्माण गर्ने, देशको विकास गति तीव्र बनाउने तथा आन्तरिक शक्ति र बाह्य सम्मान बढाउने लक्ष्य पार्टीले लिएको जनाएको छ। समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

अर्याल नेतृत्वको समितिअन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय समन्वय समिति गठन गरिएको छ, जहाँ समन्वय सचिव र सदस्यहरू तोकिसकिएको रास्वपाले जनाएको छ। यसैगरी, निर्वाचन तयारीलाई थप व्यवस्थित बनाउन पार्टीले तीन विशेष समिति पनि गठन गरेको छ। ती समितिहरूमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय समिति रहेका छन्।

रास्वपाले यी संरचनामार्फत संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।