विश्वकप अघि भारतमा नेपालको तयारी, आज मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल

User Image Prime TV News एक महिना अगाडि
Image of विश्वकप अघि भारतमा नेपालको तयारी, आज मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल

काठमाडौ । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारत भ्रमणको सुरुआत अभ्यास खेलबाट गर्दैछ। नेपालले आज मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास टी–२० खेल खेल्नेछ।

सीसीआई मैदानमा हुने उक्त खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ। आजको खेल नेपाली टोलीका लागि विश्वकपअघि संयोजन र रणनीति परख गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भारत पुग्नुअघि नेपालले श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग तीन अभ्यास खेल खेलेको थियो। पहिलो दुई खेलमा पराजय बेहोरे पनि तेस्रो खेलमा जित निकाल्दै टोलीले लय समातेको थियो।

एमसीए प्रेसिडेन्ट ११ सँग शनिबार दोस्रो अभ्यास खेल खेलेपछि नेपाली टोली चेन्नई जानेछ। त्यहाँ नेपालले यूएई र क्यानडासँग वार्म–अप खेल खेल्ने तालिका रहेको छ। यूएईसँग फेब्रुअरी ३ को साँझ ५:१५ बजे र क्यानडासँग फेब्रुअरी ५ को दिउँसो सवा १ बजे खेल हुनेछ। दुवै खेल एमए चिदम्बरम रंगशालामा आयोजना हुनेछन्।

आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै अभियान थाल्नेछ। त्यसपछि इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग समूह चरणका खेल खेल्ने कार्यक्रम रहेको छ।