शंकर पोखरेलद्वारा दाङको समग्र विकासलाई केन्द्रमा राखेर चुनावी एजेण्डा सार्वजनिक
Prime TV News एक महिना अगाडि 
दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि आफ्नो चुनावी एजेण्डा सार्वजनिक गर्दै दाङको समग्र विकासलाई मुख्य प्राथमिकता बनाउने बताएका छन्।
पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीको रूपमा संघीयता कार्यान्वयनमा नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका खेलेको स्मरण गराउँदै, अब राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्याउने समय आएको बताए।
उनले दाङमा पानीमुनीको पुल निर्माणदेखि प्रमुख अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरसम्म पुर्याउने काममा सहयोग गरेको, उच्च प्राविधिक शिक्षाको आधारशिला तयार गरेको र राजनीतिमा इमान्दार तथा स्वच्छ छवि स्थापित गरेको दाबी गरे।
पोखरेलले आफ्नो चुनावी एजेण्डा पूर्वाधार विकासमा लमही घोराही तुल्सीपुर फोरलेन सडक निर्माण, ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण, तुल्सीपुर विमानस्थल विस्तार, स्वास्थ्य र शिक्षाको क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० बेडको नयाँ अस्पताल भवन निर्माण, मेडिकल कलेजका लागि पूर्वाधार, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन, सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य बीमा विस्तारको मुख्य योजना प्रस्तुत गरेका छन् ।
यस्तै कृषिको आधुनिकीकरण र व्यवसायीकरण, युवाका लागि विनाधितो सहुलियत ऋण, नयाँ लगानीकर्तालाई आयकर छुट र सिचाइ सुविधा, ग्रामीण सडक कालोपत्रे, शहरी फुटपाथ निर्माण, प्रदेश राजधानीको गुरु योजना कार्यान्वयन, केन्द्रीय घोषणापत्रका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।












