कांग्रेस र एमालेले बिचौलिया र स्वार्थ समूहलाई प्राथमिकता दिदा जेनजी आन्दोलन भयोः उपमहासचिव पुन


काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गत असारमा विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकारले सुशासन र विकासलाई पछाडि पारेर बिचौलिया र स्वार्थ समूहलाई प्राथमिकता दिएको कारण जनअसन्तोष उत्पन्न भई जेनजी आन्दोलन सुरु भएको बताएका छन्।
उनले राष्ट्रपति भवन, सिंहदरबार र अन्य सरकारी कार्यालयहरू खरानी बनाएको घटनाको नैतिक जिम्मेवारी कुशासन गर्नेहरूले लिनुपर्ने बताए।
जेनजी आन्दोलनले मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक समस्यासँगै भू–राजनीतिक प्रभावहरू पनि समेटेको भन्दै अमेरिका, चीन, भारत र रुसबीचको शक्ति संघर्षले नेपाललाई प्रभावित गरेको बताउँदै राष्ट्रिय स्वाधीनता र एकताको पक्षमा सबै पक्षलाई सहकार्य गर्न आग्रह गरे।
उनले आन्दोलनले पार्टी नेतृत्व र राज्य संरचनामा आमूल परिवर्तन आवश्यक रहेको स्पष्ट सन्देश दिएको समेत बताएका छन्।