कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । कमलविनायक बसपार्क नजिकै भएको सडक दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सो दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्कियो।
त्यसपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ।
मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीमा राखिएको छ र थप अनुसन्धान जारी छ।













