कोसी प्रदेशले माघ २५ गते हिउँदे अधिवेशन बोलाउने निर्णय
Prime TV News एक महिना अगाडि 
विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ २५ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार, अधिवेशन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन हुनेछ, किनभने प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा छ। अधिवेशन सञ्चालनका लागि मासिक ८ लाख रुपैयाँ भाडा लाग्ने बताइएको छ।
मन्त्रिपरिषद् बैठकले अधिवेशनबाहेक विकास र कानूनी संरचनासँग सम्बन्धित ६ महत्त्वपूर्ण निर्णय पनि गरेको छ। बैठकले कोसी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (२०८२) स्वीकृत गरेको छ भने कोशी प्रदेश कानूनी सहायता विधेयकको मस्यौदा तयार गर्ने सैद्धान्तिक सहमति दिएको छ।
विकास आयोजनासम्बन्धी निर्णयअनुसार, कोसी पम्प चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनलाई कर छुट दिने प्रस्ताव पारित भएको छ। साथै, ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रभावकारी सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट १२.५% म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय भएको छ।
विपन्न नागरिकको आवास सुनिश्चित गर्न कोसी जनता आवास सम्बन्धी मापदण्ड तथा कार्यविधि २०८२ पनि स्वीकृत गरिएको छ।












