आचारसंहिता उल्लङ्घनमा आयोग कडा, २१ पक्षसँग स्पष्टीकरण माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोगले कडाइ बढाएको छ। आयोगले हालसम्म २१ जना व्यक्ति, उम्मेदवार, संस्था तथा निकायसँग स्पष्टीकरण मागेको जनाएको छ।
आयोगका अनुसार माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू भएपछि माघ १४ गतेसम्म विभिन्न राजनीतिक दल, उम्मेदवार र संस्थामाथि छानबिन गर्दै स्पष्टीकरण सोधिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले २१ मध्ये ५ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको र बाँकी जवाफका लागि ताकेता भइरहेको जानकारी दिए।
निर्वाचन मर्यादित बनाउन आयोगले आचारसंहिता अनुगमन अधिकृतहरू नियुक्त गरिसकेको छ। साथै, सामाजिक सञ्जाल र अन्य माध्यमबाट फैलिने मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्तिको निगरानी गर्न आयोगभित्रै निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरिएको छ।
उक्त केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाईले हालसम्म ३०२ वटा हानिकारक सूचना पहिचान गरेको छ। ती सूचनालाई निर्वाचन आचारसंहिता २०८२, विद्युतीय कारोबार ऐन २०६३ र प्रेस काउन्सिल ऐन २०४८ अनुसार आवश्यक कारबाहीका लागि सम्बन्धित नियामक निकायमा पठाइएको आयोगले जनाएको छ।
आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निगरानी, समन्वय र कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइने स्पष्ट पारेको छ।











