शान्ति सुरक्षामा कडाइ, भयरहित निर्वाचन गराउने सरकारको प्रतिबद्धता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीमाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन्।
सरकारले भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताएका छन्। बिहीबार निर्वाचन आयोगमा आयोजित छलफलमा गृहमन्त्री अर्यालले निर्वाचनको शान्ति सुरक्षा र समग्र व्यवस्थापकीय तयारीबारे आयोगका पदाधिकारीहरूसँग विचारविमर्श गरेका हुन्।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। गृहमन्त्री अर्यालले निर्वाचनलाई भयमुक्त बनाउन सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिँदै मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी सबैको सुरक्षालाई सुनिश्चित गरिएको बताए।
उनका अनुसार गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग समन्वय हुने गरी विस्तृत सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको छ। उनले आपराधिक तथा निर्वाचनविरोधी गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराए।
सरकार, निर्वाचन आयोग र सुरक्षा निकायबीचको समन्वयबाट निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सकिने गृहमन्त्री अर्यालको भनाइ छ।












