जिल्ला अदालत रुपन्देहीले लामिछानेविरुद्ध संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता नलिने

User Image Prime TV News एक महिना अगाडि
Image of जिल्ला अदालत रुपन्देहीले लामिछानेविरुद्ध संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता नलिने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा दर्ता भएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ। सर्वोच्च अदालतमा सोही विषयमा परेको रिटको टुंगो नलागेसम्म मुद्दा फिर्ताबारे निर्णय नगर्ने आदेश जिल्ला अदालतले दिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेसहित प्रतिवादीहरूविरुद्ध दायर मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकीलको कार्यालयमार्फत रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरिएको थियो। तर अदालतले सर्वोच्च अदालतमा विचाराधीन मुद्दासँग अन्तरसम्बन्धित रहेको भन्दै हाललाई निवेदनमाथि सुनुवाइ गर्न नमिल्ने ठहर गरेको छ।

जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्च अदालतबाट सम्बन्धित रिटमा अन्तरिम आदेश वा अन्तिम निर्णय आएपछि मात्रै मुद्दा फिर्ता सम्बन्धी प्रक्रिया अघि बढाउन सकिने आदेश दिएको हो। माघ ६ गते जारी उक्त आदेशबारे रुपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि कानुनी प्रक्रिया जटिल बनेको हो।

माघ ११ गते सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा महान्यायाधिवक्ताले मुद्दा दर्ता भइसकेपछि थप प्रमाण फेला परेको दाबी गरेकी थिइन्। त्यसपछि न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले सम्बन्धित प्रमाण झिकाउन आदेश दिएको थियो।

सर्वोच्च अदालतबाट रिटको टुंगो लागेपछि मात्रै जिल्ला अदालत, रुपन्देहीमा मुद्दा फिर्तासम्बन्धी निवेदनमाथि थप सुनुवाइ हुने स्पष्ट भएको छ।