एमालेले प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र तयारी सुरु, अध्यक्ष ओलीले राष्ट्रियता र सुरक्षामा जोड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्ने तयारी सुरु गरेको छ। पार्टीले यसक्रममा विभिन्न क्षेत्रका विज्ञहरूसँग विचार विमर्श गरेको छ।
केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्राथमिकता र उद्देश्यबारे धारणा राखे। उनले पार्टी सुदृढ संगठन, व्यापक जनमत र लोकप्रिय रहेको र भूकम्पपछिको पुनर्निर्माणमा उदाहरणीय काम गरेको दाबी गरे।
अध्यक्ष ओलीले गत भदौका घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकता कायम गर्न एमाले उच्च मनोबलका साथ नेतृत्व दिने बताए। उनले सरकारले हालसम्म निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै राज्यका कामकारबाहीमा पार्टीले नजिकबाट निगरानी राख्ने जानकारी दिए।
ओलीले स्पष्ट पारे, “राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमान आत्मसमर्पणबाट जोगिन सकिँदैन। आवश्यक परे प्रतिरोध र प्रतिवाद गरिनेछ। कुनै पनि किसिमको आत्मसमर्पण स्वीकार्य छैन।”
पार्टीले देशको विकासलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत जनताको जीवनस्तर सुधार्ने घोषणापत्र तयार गरिरहेको छ। प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने व्यावहारिक कार्यक्रम समेटिनेछ।












