सहिद दिवसमा बालेनको चेतावनीपूर्ण सन्देश: राज्य असफल हुँदा फेरि युवाले ज्यान दिनुपर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार बालेन शाहले सहिद दिवसको अवसरमा शुभकामना दिँदै अब नेपाल फेरि सहिद जन्माउने देश बन्न नहुने स्पष्ट सन्देश दिएका छन्।
चुनावी अभियानका क्रममा अछाममा रहेका काठमाडौँ महानगरपालिकाका पूर्वमेयरसमेत रहेका शाहले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै सहिदका सपना पूरा हुन नसक्नु राज्यको गम्भीर असफलता भएको बताएका छन्।
यहि असफलताको परिणामस्वरूप गत भदौमा भएको जेनजी आन्दोलनमा युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेको उनको आरोप छ। “८५ वर्षअघिको इतिहास दोहोरिनु लाजमर्दो विषय हो,” शाहले उल्लेख गरेका छन्, “सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवाहरूले फेरि पनि बलिदान दिनुपर्यो भने त्यो राज्य व्यवस्थाको दिवालियापन हो।”
उनले दशकौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दण्डहीनता र कुशासनकै कारण देश पछाडि परेको दाबी गरेका छन्। अब त्यसको अन्त्य नगरे सहिद दिवस केवल औपचारिक कर्मकाण्डमा सीमित हुने उनको भनाइ छ।
शाहका अनुसार सहिद दिवसको वास्तविक सम्मान भनेको ज्ञात–अज्ञात सबै सहिदको बलिदानलाई व्यवहारमा उतार्नु हो, भाषण र माल्यार्पणमा होइन। “फेरि कसैले सहिद बन्नु नपरोस् भन्ने अवस्था सिर्जना गर्न सकिएन भने हाम्रो श्रद्धाञ्जली खोक्रो हुन्छ,” उनले चेतावनी दिएका छन्।












