अमेरिकास्थित नेपालीलाई दूतावासको स्पष्ट चेतावनी: कानुन उल्लङ्घन गरे भिसा र ग्रिनकार्ड जोगिँदैन

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिकास्थित नेपालीलाई दूतावासको स्पष्ट चेतावनी: कानुन उल्लङ्घन गरे भिसा र ग्रिनकार्ड जोगिँदैन

काठमाडौ । अमेरिकामा विभिन्न प्रयोजनले बसोबास गरिरहेका नेपाली नागरिकलाई अमेरिकी कानुन र नियमको कडाइका साथ पालना गर्न वासिङ्टनस्थित नेपाली राजदूतावासले स्पष्ट चेतावनी दिएको छ।

अमेरिकी कानुन विपरीत गतिविधि, गलत सूचना पेस गर्ने वा अवैधानिक रूपमा सरकारी सहुलियत लिने कार्यमा संलग्न भए भिसा र ग्रिनकार्ड नै रद्द हुन सक्ने दूतावासले जनाएको छ।

राजदूतावासले जारी गरेको सार्वजनिक सूचनामा अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा पारिवारिक भेटघाटका सिलसिलामा अमेरिकामा रहेका कुनै पनि विदेशी नागरिकले त्यहाँ रहँदा गलत विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने सहुलियत नलिन आग्रह गरिएको छ।

सहुलियतपूर्ण स्वास्थ्योपचार, आवास, परिवार सहायता तथा शैक्षिक सहयोगजस्ता सुविधा दुरुपयोग गरेको पाइएमा त्यसको प्रत्यक्ष असर आप्रवासन हैसियतमा पर्ने र भिसा वा ग्रिनकार्ड रद्दसमेत हुन सक्ने चेतावनी दिइएको छ।

दूतावासका अनुसार सन् २०२४ मा नेपाली नागरिकहरू अमेरिकी सरकारको सहुलियतपूर्ण सेवा लिनेहरूको सूचीमा माथिल्लो स्थानमा परेपछि अमेरिकाले नेपाली नागरिकका लागि आप्रवासी भिसा बन्द गरेको विषयसमेत सार्वजनिक रूपमा जानकारी गराइसकेको छ। यो अवस्था नेपाली समुदायका लागि गम्भीर संकेत भएको दूतावासको ठहर छ।

विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भिसा नीतिमा कडाइ गरेको सन्दर्भ उल्लेख गर्दै अब कानुन उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति अपनाइएको स्पष्ट पारिएको छ। विशेषगरी व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि जारी गरिने ‘बी–१’ र ‘बी–२’ भिसाको दुरुपयोग नगर्न दूतावासले आग्रह गरेको छ।

दूतावासले अन्त्यमा अमेरिकामा रहेका नेपाली नागरिकलाई कानुनी सीमाभित्र रही जिम्मेवार व्यवहार गर्न, गलत सूचना वा अवैधानिक लाभ लिन खोज्ने प्रवृत्तिबाट टाढा रहन र आफ्नो आप्रवासन हैसियत सुरक्षित राख्न सचेत हुन अनुरोध गरेको छ।