अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् : प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।

शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले सन्देशमा नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।

साथै, न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि उनले नमन गरेकी छन्। उनले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यसप्रति सदा सचेत रहनुपर्नेमा जोड दिएकी छन्।

प्रधानमन्त्री कार्कीले शहीदहरूको सपना साकार पार्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएकी छन्।