आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपाल विजयी

User Image Prime TV News एक महिना अगाडि
Image of आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौ । आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपालले भारतको मुम्बइ क्रिकेट एकेडेमी (एमसीए प्रेसिडेन्ट–११) लाई ७ विकेटले पराजित गरेको छ ।

पहिलो अभ्यास खेलमा विजयी भएको नेपाल टिमले दोस्रो अभ्यास खेल शनिबार खेल्दैछ । बिहीबारको खेलमा अस्वास्थ्ताका कारण सन्दीप लामिछाने उपस्थित हुन सकेनन् । शनिबारको खेलमा उनी उपस्थित हुने अनुमान गरिएको छ ।

गएराति भएको खेलमा पहिले ब्याटिङ गरेको एमसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । भारतीय टोलीका लागि सिद्धार्थ अक्रेले २० बलमा २८ रन तथा परिक्षित सालंगकरले २८ बलमा २७ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए ।

नेपालका बलरमध्ये नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेलले ४ ओभरमा २५ रन दिएर १ विकेट हात पारे । १४३ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमै ३ विकेट गुमाउँदै १४३ रन बनाउँदै सहज जित निकाल्यो। कप्तान रोहित पौडेलले ४३ बलमा ५० रनको अविजित अर्धशतक प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे।

कुशल भुर्तेलले २१ बलमा ३८ रन जोड्दै आक्रामक सुरुवात दिलाए । एमसीएका बलर मध्ये प्रतीक मिश्राले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए भने धनीत राउतले ३.२ ओभरमा २९ रन दिएर १ विकेट हात पारे । विश्वकपको तयारीलाई मजबुत बनाउने उद्देश्यले खेलिएको यस अभ्यास खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको छ ।

टोलीले अभ्यास खेलमार्फत आत्मविश्वास बढाउँदै आगामी विश्वकपमा बलियो प्रदर्शन गर्ने संकेत दिएको छ ।