निर्वाचनका लागि १९ अर्बभन्दा बढी स्रोत सहमति, ६ अर्ब ३६ करोड निकासा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्थ मन्त्रालयले आगामी निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयका अनुसार हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार २१ फागुनमा हुने निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र विभिन्न मितिमा ठूलो परिमाणमा बजेट स्रोत सहमति दिइएको छ। आयोगका लागि १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो भने २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ।
यसअनुसार निर्वाचन आयोगलाई कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति पुगेको छ। निकासातर्फ हेर्दा, निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा दिइएको थियो। आयोगको तथ्यांकअनुसार हालसम्म आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।
निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई पनि उल्लेख्य बजेट स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको थियो।
त्यसैगरी नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ। थप रूपमा २० पुसमा नेपाली सेनालाई १ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति दिइएको छ।
यसैगरी गृह मन्त्रालय तथा मातहतका निकायका लागि निर्वाचन व्यवस्थापन र सुरक्षासम्बन्धी कार्यका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
अर्थ मन्त्रालयका अनुसार निर्वाचनलाई समयमै, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखेर स्रोत सहमति र निकासा प्रक्रिया अघि बढाइएको छ।











