एमालेको विश्लेषणः झापा–५ मा कुनै जोखिम छैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टी सुरक्षित अवस्थामा रहेको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले झापा–५ लाई लिएर पार्टीले गरेको आन्तरिक विश्लेषण सार्वजनिक गरेका हुन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमा फैलिने हल्ला र चर्चाले केही प्रभाव पारेको स्वीकार गरे पनि मतदाताको वास्तविक धारणा एमालेको पक्षमा रहेको दाबी गरे।
उनका अनुसार सामाजिक सञ्जालमा देखिने गतिविधिले भ्रम सिर्जना गर्न खोजिए पनि त्यसले निर्वाचन परिणाममा निर्णायक असर नपार्ने पार्टीको ठहर छ। “सामाजिक सञ्जालमा हुने हल्लाखल्लाले एक खालको प्रभाव पारेको होला, तर मतदाताबीचको अवस्था हेर्दा झापा–५ मा हामी सुरक्षित छौँ,” पोखरेलले भने, “त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने हाम्रो विश्लेषण छ।”
झापा–५ बाट नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पनि चुनावी प्रतिस्पर्धामा रहेका कारण चुनावी चर्चा चर्किएको छ।
एमालेले भने विपक्षी दलका उम्मेदवारको उपस्थितिलाई सामान्य प्रतिस्पर्धाका रूपमा लिँदै आफ्नो जनाधार मजबुत रहेको दाबी गरेको छ।













