अमेरिकामा फेरि सरकारी सटडाउनको सङ्कट, आप्रवासन नीतिले बजेट प्रक्रिया अवरुद्ध

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिकामा फेरि सरकारी सटडाउनको सङ्कट, आप्रवासन नीतिले बजेट प्रक्रिया अवरुद्ध

काठमाडौ । अमेरिकी सिनेटमा सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण विधेयक पारित हुन नसक्दा संघीय सरकार आंशिक रूपमा बन्द हुने खतरा बढेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र डेमोक्रेट सांसदबीच चुलिँदै गएको विवादका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुन सक्ने देखिएको हो। सिनेटमा आवश्यक समर्थन जुट्न नसकेपछि संघीय सरकारको करिब तीन चौथाइ खर्च समेट्ने बजेट प्याकेज रोकिएको छ।

संशोधित प्रस्तावमा पुनः मतदान गर्ने तयारी भए पनि त्यसलाई हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित गराउनुपर्नेछ। तर हाउस सोमबारसम्म बन्द रहने भएकाले समयमै बजेट स्वीकृत हुने सम्भावना कमजोर बनेको छ।

यदि सटडाउन भयो भने ट्रम्प प्रशासनअन्तर्गत यो दोस्रो पटक संघीय सरकार बन्द हुनेछ। अघिल्लो पटक ४३ दिनसम्म चलेको सटडाउनको तुलनामा यसपटक छोटो हुने अनुमान गरिए पनि त्यसले लाखौँ संघीय कर्मचारीलाई प्रत्यक्ष असर पार्न सक्नेछ।

डेमोक्रेटहरूले गृह मन्त्रालयका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने र आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आईसीई) को कार्यशैलीमा कडा नियन्त्रण आवश्यक रहेको अडान लिँदै आएका छन्। सिनेटका डेमोक्रेट नेता चक शुमरले आईसीईका गतिविधिप्रति कडा आलोचना गर्दै त्यसलाई रोक्नु कंग्रेसको जिम्मेवारी भएको बताएका छन्।

पछि शुमरले ह्वाइट हाउस अस्थायी समाधानमा सहमत भएको संकेत गरे पनि अमेरिकी सञ्चारमाध्यमहरूले मतदान अझै ढिलाइ भएको जनाएका छन्। राष्ट्रपति ट्रम्पले भने सामाजिक सञ्जालमार्फत द्विदलीय समर्थन जुटाउन आग्रह गर्दै बजेट सम्झौता पारित गर्न आह्वान गरेका छन्।

सटडाउन लम्बिएमा लाखौँ संघीय कर्मचारी बिदामा बस्न बाध्य हुने वा तलबबिना काम गर्नुपर्ने अवस्था आउन सक्छ। यसको असर वासिङ्टन मात्र नभई देशभरका सरकारी सेवामा पर्ने विश्लेषण गरिएको छ।