भारतमा निपा भाइरस संक्रमण, नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता आवश्यक

User Image Prime TV News एक महिना अगाडि
Image of भारतमा निपा भाइरस संक्रमण, नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता आवश्यक

सिराह । भारतका केही प्रान्तमा घातक निपा भाइरसको संक्रमण पुष्टि भइसकेको र फैलिन सक्ने अवस्था रहेकाले नेपालका खुल्ला सीमा क्षेत्रमा सतर्क रहन स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्।

स्वास्थ्य कार्यालय सिरहाले स्थानीय तहहरूलाई पत्राचार गर्दै संक्रमण फैलिएको स्थान भ्रमण गरी फर्किएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा बस्न र समुदायमा आधारित रोग निर्देशिका २०८२ अनुसार निगरानी गर्न निर्देशन दिएको छ।

जनस्वास्थ्य प्रशासक कृष्णदेव यादवले भने, “संक्रमण फैलिन सक्ने जोखिम अझै कायम छ। यसैले समुदायस्तरमै निगरानी र सतर्कता अपनाउन जरुरी छ।” भारतीय अधिकारीहरूले प्रकोप नियन्त्रणमा आएको घोषणा गरेका भए पनि विशेषज्ञहरूले निपा भाइरसको जोखिम अझै उच्च रहेको बताइरहेका छन्।

स्वास्थ्य मन्त्रालयले यात्रुहरूलाई हात धुन, मास्क लगाउन र सुरक्षा नियम पालना गर्न सतर्क गराएको छ। नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकहरूले आफ्नै सुरक्षा र समुदायको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनुपर्ने स्वास्थ्य विभागको चेतावनी छ।