हेभिवेट उम्मेदवारहरू रहेका निर्वाचन क्षेत्रमा उच्च सतर्कता अपनाउदै प्रहरी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा नेपाल प्रहरीले देशभरका सुरक्षा संवेदनशील ठाउँहरूमा विशेष तयारी सुरु गरेको छ।
विशेषगरी ती क्षेत्रहरूमा जहाँ हेभिवेट उम्मेदवारहरू प्रत्यक्ष भिडन्तमा छन्, उच्च सतर्कता अपनाइँदैछ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, संवेदनशील जिल्लाहरू पहिचान गरी एसएसपी र वरिष्ठ अफिसर स्तरको कमाण्ड खटाउने तयारी भइरहेको छ।
उनले भने, “हेभिवेट उम्मेदवारको प्रतिस्पर्धा हुने ठाउँमा स्वाभाविक रूपमा सुरक्षा चुनौती बढ्छ, त्यसैले विशेष कमाण्ड र अतिरिक्त सुरक्षा परिचालनको योजना बनाइएको छ।” चुनावी दृष्टिले झापा–५ सबैभन्दा चुनौतीपूर्ण क्षेत्र मानिएको छ।
यहाँ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) आमने–सामने छन्। सोही क्षेत्रमा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर पनि प्रतिस्पर्धामा छन्। सर्लाही–४ मा नेपाली कांग्रेस सभापति गगन थापा र रास्वपा अमरेश कुमार सिंह आमने–सामने छन् भने नेकपा नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) पनि उम्मेदवार बनेका छन्।
चितवन–२ र चितवन–३ पनि सुरक्षा संवेदनशील क्षेत्रको सूचीमा पर्छ, जहाँ रास्वपा सभापति रवि लामिछाने, नेकपा नेतृ/पूर्वमेयर रेणु दाहाल र रास्वपा नेतृ सोविता गौतम आमने–सामने छन्। यसबाहेक दोलखा, रुपन्देही र मोरङजस्ता जिल्लाहरूमा पनि विशेष कमाण्डको प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ।
निर्वाचन लक्षित सुरक्षा तयारी अन्तर्गत करिब ७५ हजार प्रहरी खटाइने योजना बनाइएको छ भने उपत्यकाबाट १२ हजार बढी प्रहरी जिल्लामा पठाइनेछ। झापा क्षेत्रमा नियमित भन्दा करिब १०० बढी प्रहरी परिचालन भइसकेको छ। प्रहरीले सूचना संकलन, सम्भावित झडप आकलन, डग स्निफिङ, सरप्राइज चेकिङ र संयुक्त गस्ती जस्ता उपायहरू अपनाउँदै सुरक्षा व्यवस्था बलियो बनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा “एक थोपा पनि रगत नबगोस” भन्ने निर्देशन दिएकी छिन्। यसैअनुरूप गृहमन्त्रालयले वडास्तरमा राजनीतिक दलका पदाधिकारी र प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचन व्यवस्थापनमा सहभागी गराएर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने अवधारणा तयार गरेको छ।
प्रहरी र सुरक्षा निकायहरूले उम्मेदवारको सुरक्षा र निर्वाचन प्रक्रियाको सहजता सुनिश्चित गर्न सबै उपाय अपनाइरहेका छन्।













