रुकुम पूर्वबाट विकास, उत्पादन र रोजगारीमा आधारित नयाँ ‘मोडेल’ खडा गर्छुः प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of रुकुम पूर्वबाट विकास, उत्पादन र रोजगारीमा आधारित नयाँ ‘मोडेल’ खडा गर्छुः प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपराउने शक्ति र तत्त्वकै कारण आफू नेतृत्वको सरकारबाट बाहिरिन बाध्य भएको दाबी गरेका छन्।

रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा चालिएका कदम केही वर्गलाई असह्य बनेको बताएका हुन्।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा रहँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुका साथै सामाजिक विभेद अन्त्यका लागि अभियान चलाइएको स्मरण गरे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलित सम्बन्ध कायम गर्दै देशको समृद्धि अघि बढाउने क्रममा ती अभियानलाई नचाहने समूह सक्रिय भई सरकार ढाल्न सफल भएको उनको आरोप छ। अधुरा रहेका सुशासन र समृद्धिका कार्यक्रम पूरा गर्न पुनः जनतामाझ जाने निर्णय लिएको उनले बताए।

आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णयबारे स्पष्ट पार्दै प्रचण्डले यो केवल निर्वाचन क्षेत्र परिवर्तन नभई ऐतिहासिक र राजनीतिक अर्थ बोकेको कदम भएको उल्लेख गरे। रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र चुनवाङ बैठकबाटै गणतन्त्रको शंखघोष गरिएको स्मरण गराउँदै उनले महिला, दलित, जनजाति तथा उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने नीति त्यहीँबाट अघि बढेको बताए।

देश अहिले ‘जेनजी’ आन्दोलन र विभिन्न राजनीतिक उतारचढावका कारण जटिल मोडमा रहेको उल्लेख गर्दै उनले राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाइ दिन रुकुम पूर्व उपयुक्त भएको दाबी गरे।

प्रचण्डले आफू केवल भोट माग्न र चुनाव जित्नका लागि मात्र रुकुम पूर्व जान लागेको होइन भन्ने स्पष्ट पारे। उनले रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीमा आधारित नयाँ ‘मोडेल’ खडा गरी त्यसलाई समाजवादको भ्रूणका रूपमा विकास गर्ने योजना सुनाए। जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि तथा आधुनिक भेडापालनमार्फत हजारौँ युवालाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए।

तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरिएको र पीडित परिवारका लागि रोजगारी तथा आर्थिक परिपूरणको व्यवस्था सहितको विधेयक तयार पारिएको जानकारी पनि उनले दिए। उक्त विधेयकको कार्यान्वयन आधार इलाकाबाटै सुरु गरी सहिद, घाइते र पीडित परिवारलाई सम्मान दिन आफू रुकुम पूर्व जानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रचण्डले आफ्नो जीवनको बाँकी समय राष्ट्र, सुशासन र समाजवादका लागि समर्पित गर्ने सङ्कल्प दोहोर्‍याउँदै रुकुम पूर्वका जनताको भावना र विकासको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।