कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको छ : सभापति थापा

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको छ : सभापति थापा

धनुषा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हाल कुनै गम्भीर मतभेद नरहेको र कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका छन्।

धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवाद भइरहेको उल्लेख गरे। पार्टीभित्र असमझदारी वा रिसराग नरहेको र सबै नेताहरूबीच सहकार्य कायम रहेको उनको भनाइ थियो।

“कांग्रेसको अधिवेशनपछि नयाँ नेतृत्व आएको छ। पार्टीभित्र कसैमाथि दोषारोपण छैन,” उनले भने, “निवर्तमान सभापति शेरबहादुर देउवासँग मेरो निरन्तर संवाद भइरहेको छ। केही विषयमा मतभेद हुन सक्छ, तर अन्त्यमा हामी एक ढिक्का हुन्छौँ, अहिले पनि एक ढिक्का छौँ।”

सभापति थापाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन देश सञ्चालन गर्ने कार्यशैली परिवर्तनको मागसहित भएको उल्लेख गर्दै त्यसपछि कांग्रेसले आफ्ना सोच र व्यवहारमा परिवर्तन ल्याएको दाबी गरे।

उनका अनुसार फागुन २१ को निर्वाचन र त्यसपछिका राजनीतिक घटनाक्रम योजनाबद्ध नभई अकस्मात रूपमा विकसित भएका थिए। “देश चलाउने पद्दति बदल्नुपर्छ भन्ने आवाज उठेको थियो,” उनले भने, “अरु पार्टी बदलिए कि बदलिएनन् थाहा भएन, तर कांग्रेस भने बदलिएर आएको छ।”

माघमा सम्पन्न अधिवेशनपछि आएको नेतृत्वसहितको नेपाली कांग्रेस नै आजको ‘नयाँ कांग्रेस’ भएको दाबी गर्दै थापाले पार्टी परिवर्तनको बाटोमा अघि बढिरहेको बताए।