लेखक र ओलीलाई कार्बाहीको माग


काठमाडौ । मानव अधिकार तथा शान्ति समाजले गत भदौ २३ र २४ गतेको जन–जी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई मुख्य दोषी ठहर गर्दै तत्काल कारबाहीको माग गरेको छ।
समाजले दुवैमाथि कानुनी कारबाही थाल्नुपर्ने साथै जनधनको क्षतिसम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने बताएको छ।
आन्दोलनका क्रममा राज्यका विभिन्न धरोहर तथा सार्वजनिक सम्पत्ति, प्रेस र नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पनि दण्डित गर्न समाजले जोड दिएको छ। आन्दोलनमा भएका यी घटनाका लागि घुसपैठ भएका तत्वहरू जिम्मेवार रहेको उल्लेख गर्दै भविष्यमा यस्ता अपराधिक गतिविधि दोहोरिन नदिन कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएको छ।
समाजले राज्यको स्रोत दोहन गर्दै पूर्वविशिष्टलाई उपलब्ध गराइरहेको सेवा तथा सुविधा कटौती गर्नुपर्ने, ध्वस्त संरचनाको पुनर्निर्माणका लागि सबै क्षेत्रबाट योगदान जुटाउनुपर्ने र पुनर्निर्माण मन्त्रालय स्थापना गरी आगामी दशकलाई पुनर्निर्माण दशक घोषणा गर्नुपर्ने माग राखेको छ।