दलहरूबीच प्रतिस्पर्धा भन्दा पनि आत्मघोषित जितको होड चलिरहेको छ: एमाले नेता बास्कोटा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल र तिनका नेताहरूले गरिरहेका जितका दाबी र सिट आँकलनप्रति तीखो कटाक्ष गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले अहिलेको राजनीतिक माहोल सुन्दा पढ्दा कुनै पनि दल दोस्रो नहुने जस्तो देखिएको टिप्पणी गरेका हुन्।
बास्कोटाले दलहरूबीच प्रतिस्पर्धा भन्दा पनि आत्मघोषित जितको होड चलिरहेको उल्लेख गर्दै सबैले एकल सरकार बनाइसकेको जस्तो प्रस्तुति दिइरहेको व्यङ्ग्य गरे। उनले चुनावअघि गरिने यस्ता दाबीलाई वास्तविकताभन्दा प्रचारको उपज भएको संकेत गरेका छन्।
उनका अनुसार चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने कुरा मतदाताले मात्र तय गर्ने विषय हो। अहिले भइरहेका दाबी, अनुमान र भाषणहरूले अन्तिम सत्य निर्धारण नगर्ने उनले स्पष्ट पारे।
नेता बास्कोटाले चुनावी समयमा देखिने होहल्ला, झुटा दाबी र आरोप प्रत्यारोपलाई अस्वाभाविक मान्न नहुने बताउँदै अन्तर्राष्ट्रिय सन्दर्भ पनि जोडे। यस्ता गतिविधि विकसित मुलुक युरोप र अमेरिकामा समेत देखिने भएकाले नेपालमा यसलाई असाधारण ठान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
उनको यो अभिव्यक्तिले चुनावी बहसमा बढ्दो अतिरञ्जित दाबीप्रति प्रश्न उठाएको छ। दलहरूको आत्मविश्वास र यथार्थबीचको दूरी कति छ भन्ने कुरा अन्ततः मतगणनापछि मात्रै स्पष्ट हुने संकेत बास्कोटाले दिएका छन्।













