म फुटाउने होइन, जोड्ने राजनीति गर्न चाहन्छु: सभापति गगन थापा

User Image Prime TV News एक महिना अगाडि
Image of म फुटाउने होइन, जोड्ने राजनीति गर्न चाहन्छु: सभापति गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाहीबाट निर्वाचन लड्ने निर्णयलाई भावनात्मक रूपमा कठिन भएको बताएका छन्।

शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा कार्यक्रममा बोल्दै उनले उक्त निर्णय गर्दा आफू र पार्टीका सहकर्मीहरू भावुक बनेको उल्लेख गरे।

थापाले देशको नेतृत्वका लागि मधेशसँग राजनीतिक रूपमा जोडिनुपर्ने तर्क गर्दै सर्लाही जानु विभाजन होइन, राष्ट्रिय एकताको प्रयास भएको दाबी गरे। “सिंगो देशको नेतृत्व गर्न मधेशलाई अँगालो हाल्नुपर्छ,” उनले भने, “म फुटाउने होइन, जोड्ने राजनीति गर्न चाहन्छु।”

तर उनले आफू काठमाडौं–४ छाडेर गएको भन्ने अभिव्यक्तिलाई अस्वीकार गरे। “छाडेर गएको भन्नुहोला भने मलाई दुख्छ,” भन्दै उनले आफू काठमाडौंमै रहेको र नयाँ जिम्मेवारीका कारण मधेश गएको बताए। थापाका अनुसार उनको उद्देश्य मधेशका मुद्दा परिवर्तन गर्नु हो, क्षेत्र त्याग्नु होइन।

काठमाडौं–४ बाट तीन पटक निर्वाचन जितेका थापाले सो क्षेत्रका मतदाताले आफूलाई दलभन्दा माथि उठेर माया दिएको दाबी गरे। २०७९ को निर्वाचनमा समेत चुनौतीपूर्ण अवस्था भए पनि मतदाताको समर्थनले जित सम्भव भएको उनले स्मरण गरे।

थापाले यसपटक काठमाडौं–४ मा अघिल्लो निर्वाचनभन्दा राजनीतिक अवस्था सहज हुने दाबीसमेत गरे।