ट्रम्पको दाबी: मैले भनेपछि पुटिनले किभमा बमबारी रोके
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्धसम्बन्धी एक गम्भीर र विवादास्पद दाबी सार्वजनिक गरेका छन्।
बिहीबार वासिङ्टनमा आयोजित क्याबिनेट बैठकमा ट्रम्पले युक्रेनमा चरम जाडो सुरु हुन लागेकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई किभमा एक हप्तासम्म आक्रमण नगर्न आग्रह गरेको र पुटिनले त्यो अनुरोध स्वीकार गरेको बताएका छन्।
ट्रम्पका अनुसार, धेरैले पुटिनले मान्दैन भन्दै उनलाई फोन नै नगर्न सल्लाह दिएका थिए। तर उनले व्यक्तिगत रूपमा हस्तक्षेप गरेपछि किभसहित अन्य सहरमा बमबारी रोक्न पुटिन तयार भएको दाबी गरेका छन्। ट्रम्पको यो अभिव्यक्ति कूटनीतिक रूपमा ठूलो कुरा हो, तर प्रमाणका हिसाबले कमजोर देखिन्छ।
चार वर्षदेखि चलिरहेको रुस युक्रेन युद्धमा रुसले हिउँद यामलाई रणनीतिक हतियारझैँ प्रयोग गर्दै आएको छ। हरेक जाडोमा युक्रेनको विद्युत्, ताप प्रणाली र आधारभूत पूर्वाधारमाथि आक्रमण गरिँदा सर्वसाधारण नागरिक चरम पीडामा पर्दै आएका छन्। यहि सन्दर्भमा ट्रम्पको दाबी सही भए, यो अस्थायी भए पनि मानवीय राहत हुनसक्छ।
रुसले अहिलेसम्म यस कथित सहमतिबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन। न युद्धविरामको घोषणा भएको छ, न आक्रमण रोकिएको औपचारिक सूचना आएको छ।
युक्रेनको मौसम विभागले किभमा तापक्रम तीव्र रूपमा घट्ने चेतावनी दिएको छ। शनिबारदेखि लगातार चार दिनसम्म रातिको तापक्रम –२० डिग्री सेल्सियसभन्दा तल झर्ने अनुमान छ। यस्तो कठोर जाडोमा ऊर्जा संरचनामाथि आक्रमण भए मानवीय संकट झनै भयावह हुने निश्चित छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाप्रति आशा व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले यो सहमति व्यवहारमा लागू होस् भन्ने कामना गर्दै कम्तीमा एक हप्ताका लागि नागरिक सुरक्षित रहने अपेक्षा व्यक्त गरेका छन्।













