कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्ने अभियान योजनाबद्ध रूपमा अघि बढाइएको छ: प्रचण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूबीचको एकता बिना नयाँ राष्ट्रिय शक्ति निर्माण सम्भव नहुने स्पष्ट पारेका छन्।
उनले देशको स्वाधीनता र राजनीतिक स्थायित्व जोगाउन विभाजित कम्युनिस्ट आन्दोलन घातक हुने बताए। पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्ने अभियान योजनाबद्ध रूपमा अघि बढाइएको जानकारी दिए।
यहि आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता अघि सारिएको उनको भनाइ थियो। उनले नेपाली कम्युनिष्ट पार्टी गठनको मूल उद्देश्य राष्ट्रिय स्वाधीनताको रक्षा र देशविरुद्ध भइरहेका वैदेशिक हस्तक्षेप तथा षड्यन्त्रलाई परास्त गर्नु रहेको बताए।
“विभिन्न कम्युनिसष्ट पार्टी र समाजवादी धारका शक्तिहरूलाई एक ठाउँमा ल्याएर राष्ट्रिय शक्ति निर्माण गर्ने अभियान जारी छ,” प्रचण्डले भने।
निर्वाचनलाई जनताको अपेक्षा पूरा गर्ने अवसरको रूपमा व्याख्या गर्दै उनले पार्टी एकता सिट बाँडफाँटका लागि मात्र नभएको स्पष्ट पारे।
असाधारण परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्णायक मोडको संज्ञा दिँदै उनले नेकपाका उम्मेदवारलाई विजयी गराउन कार्यकर्ताहरूलाई सक्रिय हुन निर्देशन दिए।
प्रचण्डको अभिव्यक्तिले कम्युनिष्ट आन्दोलनभित्र लामो समयदेखि देखिएको विभाजन र अविश्वासमाथि प्रश्न उठाएको छ। एकताको कुरा कागजमा सीमित हुने कि व्यवहारमै देखिने, यसको परीक्षा आगामी निर्वाचनले लिनेछ।













