चुनावलाई लक्षित गर्दै कांग्रेसद्वारा केन्द्रीय तहदेखि जिल्लासम्म परिचालन समिति सक्रिय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालन समिति सक्रिय बनाउँदै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो। पार्टी प्रवक्ता देवराज चालिसेले संगठनलाई चुनावी प्रतिस्पर्धामा प्रभावकारी रूपमा उतार्न केन्द्रीय तहका सबै जिम्मेवार नेताहरूलाई जिल्ला क्षेत्र स्तरमै खटाउने तयारी गरिएको बताए।
उनका अनुसार अब कांग्रेस कागजी तयारीमा सीमित नरही प्रत्यक्ष रूपमा जनतामाझ पुग्ने रणनीतिमा गएको छ। चालिसेले पार्टी 'पुरानो भयो' भन्ने आलोचनालाई अस्वीकार गर्दै राजनीतिक संस्था जनताबाट अनुमोदन पाउँदासम्म कहिल्यै पुरानो नहुने उल्लेख गरे ।
“व्यक्ति पुराना हुन सक्छन्, तर विचार र नेतृत्व नयाँ हुनुपर्छ,” उनले भने, “विश्वका धेरै पुराना पार्टीहरूमा नयाँ नेतृत्व उदाएको उदाहरण छन्। कांग्रेस पनि त्यही प्रक्रियामा छ।”
उनले लोकतन्त्रको वास्तविक शक्ति मतदाताको हातमा रहेको उल्लेख गर्दै आगामी निर्वाचनले देश कुन दिशामा जाने हो भन्ने कुरा स्पष्ट पार्ने बताए। “नागरिकले दिएको मतले देशको भविष्य निर्धारण गर्छ,” चालिसेले भने, “कांग्रेस नै देशको भविष्य हो भन्ने ठोस विश्वासका साथ हामी चुनावी मैदानमा उत्रिएका छौं।”
कांग्रेसले अब संगठन परिचालन, घरदैलो अभियान, मतदाता भेटघाट र क्षेत्रगत कार्यक्रमलाई तीव्र बनाउने जनाएको छ ।













