कांग्रेसको चुनावी घोषणापत्र सबैको अपनत्व हुने गरी बनाइँदै, छिट्टै सार्वजनिक हुने

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसको चुनावी घोषणापत्र सबैको अपनत्व हुने गरी बनाइँदै, छिट्टै सार्वजनिक हुने

काठमाडौ । नेपाली कांग्रेसले सबै नागरिकले अपनत्व लिन सक्ने गरी चुनावी घोषणापत्र तयार पारिरहेको स्पष्ट पारेको छ।

शनिबार माघ १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले घोषणापत्र कुनै गुट वा नेताको मात्र नभई आम नागरिकको साझा दस्तावेज हुने गरी बनाइँदै गरेको जानकारी दिए।

प्रवक्ता चालिसेका अनुसार घोषणापत्र तयार गर्ने क्रममा विज्ञहरूसँग गम्भीर परामर्श गरिएको छ भने नागरिकका सुझाव र आवाज पनि संकलन गरिएको छ।

उनले कांग्रेसले हतारमा, देखावटी नारा मात्रै भरिएको घोषणापत्र ल्याउन नचाहेको स्पष्ट संकेत दिए। “घोषणापत्र सबैले ‘यो मेरो हो’ भन्न सक्ने खालको बनाइँदैछ,” उनले भने, “डेमोक्रेटिक प्रक्रियाबाट दस्तावेज बनाउँदा समय लाग्छ, तर त्यो आवश्यक छ।”

चालिसेले कांग्रेसको घोषणापत्र सानो, छोटो र बुझ्न सजिलो हुने जानकारी दिए। लामो र अलमल्याउने भाषाभन्दा स्पष्ट भिजन र ठोस दिशा दिने दस्तावेजमा जोड दिइएको उनको भनाइ छ। “छोटो, मिठो र सजिलै बुझिने घोषणापत्र हुन्छ,” उनले भने, “केही दिनमै सार्वजनिक गर्छौँ।”

कांग्रेसले यस घोषणापत्रलाई केवल चुनाव जित्ने औपचारिक कागजका रूपमा होइन, देशको भावी दिशाबारे स्पष्ट प्रतिबद्धता व्यक्त गर्ने दस्तावेजका रूपमा प्रस्तुत गर्न खोजेको दाबी गरेको छ ।