१५ जिल्लाका १८ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका मतपत्र छपाइ सकियो
Prime TV News एक महिना अगाडि काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत प्रत्यक्षतर्फका मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भइसकेको छ। निर्वाचन आयोगका प्रवक्ता अनुसार मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा भइरहेको छ।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका सबै प्रत्यक्ष निर्वाचन क्षेत्रका मतपत्र छपाइ सकिएको छ। त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ र २, कैलाली निर्वाचन क्षेत्र नम्बर १, झापा निर्वाचन क्षेत्र नम्बर ५ र सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका मतपत्र पनि छपाइ भइसकेका छन्।
आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ। समानुपातिकतर्फ भने दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ।
निर्वाचन आयोगले बाँकी जिल्लाका मतपत्र छपाइको काम पनि तोकिएको कार्यतालिकाअनुसार अघि बढिरहेको दाबी गरेको छ। निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा कुनै पनि ढिलाइ, अव्यवस्था वा कमजोरी क्षम्य हुँदैन ।













