भारतले न्युजिल्यान्डलाई ४–१ ले हराउँदै टी–२० सिरिज जित्यो

User Image Prime TV News एक महिना अगाडि
Image of भारतले न्युजिल्यान्डलाई ४–१ ले हराउँदै टी–२० सिरिज जित्यो

काठमाडौ । भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ४–१ ले जित्दै उपाधि आफ्नो बनाएको छ। शनिबार सम्पन्न अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४६ रनले पराजित गर्दै सिरिजमा स्पष्ट वर्चस्व कायम गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २७१ रनको विशाल स्कोर बनायो। भारतको आक्रामक ब्याटिङ अगाडि न्युजिल्यान्डका बलरहरू पूर्ण रूपमा असफल देखिए।

भारतका लागि ईशान किशनले विस्फोटक प्रदर्शन गर्दै ४३ बलमा १०३ रन बनाए। उनले ४२ बलमै शतक पूरा गर्दै न्युजिल्यान्डविरुद्ध टी–२० क्रिकेटमा नयाँ कीर्तिमान कायम गरे। कप्तान सूर्यकुमार यादवले ३० बलमा ६५ रन बनाएर टोलीको रनगति अझ तीव्र बनाए।

२७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९.४ ओभरमै अलआउट हुँदै २२५ रनमै रोकियो। फिन एलनले ३८ बलमा ८० रन बनाएर केही संघर्ष देखाए भने ईश सोढीले १५ बलमा ३३ रन जोडे। तर अन्य ब्याट्सम्यानहरू भारतको बलिङ आक्रमण सामु टिक्न सकेनन्।

भारतका बलरहरूले पनि कडा प्रदर्शन गरे। आर्शदीप सिंहले पाँच विकेट लिँदै न्युजिल्यान्डको ब्याटिङ लाइन ध्वस्त पारे भने अक्षर पट्टेलले तीन विकेट हात पारे।

सिरिजभर उत्कृष्ट प्रदर्शन गरेका भारतका कप्तान सूर्यकुमार यादव ‘सिरिज अफ द प्लेयर’ घोषित भए। अन्तिम खेलको ‘प्लेयर अफ द म्याच’ को उपाधि शतक प्रहार गरेका ईशान किशनले प्राप्त गरे।

यस सिरिज जितसँगै भारतले टी–२० क्रिकेटमा आफ्नो आक्रामक शैली र बलियो टोली संयोजन पुनः प्रमाणित गरेको छ। न्युजिल्यान्डका लागि भने यो सिरिज कमजोर प्रदर्शन र रणनीतिक असफलताको उदाहरण बनेको छ।