७० वर्षे कूटनीतिक सम्बन्धको अवसरमा राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

User Image Prime TV News एक महिना अगाडि
Image of ७० वर्षे कूटनीतिक सम्बन्धको अवसरमा राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान प्रस्थान गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान जानेछन्। भ्रमण पूरा गरी उनी माघ २१ गते दिउँसो ४ः३० बजे सोही एयरलाइन्सको उडान नम्बर ४३४ बाट स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ।

भ्रमणका क्रममा माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।

माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग उनको राजकीय शिष्टाचार भेट तय भएको छ। त्यसै दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच औपचारिक भेटवार्ता हुने तालिका छ।

साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र जापानबीच दीर्घकालदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, विकास सहकार्य र कूटनीतिक साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यसहित यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ।