मतदाता बढेसँगै पाल्पामा मतदान केन्द्र थपिए, २९ मतदानस्थल अतिसंवेदनशील
Prime TV News एक महिना अगाडि 
पाल्पा । पाल्पा जिल्लामा मतदाता सङ्ख्या बढेसँगै मतदान केन्द्रको सङ्ख्या पनि वृद्धि गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार वि.स. २०७९ को निर्वाचनमा २४६ वटा मतदान केन्द्र रहेका थिए भने अहिले बढेर २५१ वटा पुगेका छन्। जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार मतदाता सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्नुपरेको हो। हाल पाल्पामा दुई लाख सात हजार ४३६ जना मतदाता रहेका छन्, जुन २०७९ को निर्वाचनको तुलनामा ६ हजार ११० जना बढी हो।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल ११८ मतदानस्थल रहेका छन्। तीमध्ये २९ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यका अनुसार क्षेत्र नं १ मा रहेका ५२ मतदानस्थलमध्ये २० वटा अतिसंवेदनशील छन् भने क्षेत्र नं २ मा ९ वटा मतदानस्थल अतिसंवेदनशील रहेका छन्।
क्षेत्र नं १ मा २४ वटा मतदानस्थल संवेदनशील र ८ वटा सामान्य वर्गमा परेका छन्। त्यस्तै, क्षेत्र नं २ मा २६ वटा संवेदनशील र ३१ वटा सामान्य मतदानस्थल रहेका छन्। पाल्पा क्षेत्र नं २ मा कुल ६६ वटा मतदानस्थल छन्।
जिल्लाभरका ११८ मतदानस्थलमा एकदेखि पाँचवटासम्म मतदान केन्द्र व्यवस्था गरिएको प्रशासनले जनाएको छ। सुरक्षाको दृष्टिले वर्गीकरण गरिएका मतदानस्थलमा आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताइएको छ।












